News
Latest Update :
Home » , , » मनाङमर्स्याङदीद्वारा उपाधि कब्जा

मनाङमर्स्याङदीद्वारा उपाधि कब्जा

सिमरा (बारा), फाल्गुन १३ - दसौं आहा गोल्डकपको विजेता मनाङमर्स्याङदीले १५ दिनपछि लगत्तै बाराको समरामा सञ्चालित तेस्रो सिमरा गोल्डकपको उपाधि हात पारेको छ । सिमरास्थित प्रस्तावित सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा पोखराको सहारा क्लबलाई १-० ले पाजित गर्दै मनाङले उपाधि हात पारेको हो ।

मनाङका लागि खेल सकिन नौ मिनेट बाँकी छँदा सब्टिच्युट खेलाडी सुलभ मास्केले गरेको गोल नै निणर्णायक बन्यो । अमीर श्रेष्ठले दिएको लामो क्रसलाई अनमार्क सुलभले फस्टबारमै हेडिङ गरेका थिए । पाँच मिनेटअघि अमीरकै क्रसमा सुलभको हेडिङ डिफेलेक्टेड भएर सेकेण्डबार हुँदै बाहिरिएको थियो । ७४ मिनेटमा रामजकुमार घिसिङको प्रहार सहाराका गोलकिपर राजु योगीबाट रिबाउण्ड भए पनि सोही बलमा राजकुमारकै प्रहार क्रसबारमाथिबाट बाहिरियो । यस्तै तीन मिनेट थप गरिएको इन्जुरी टाइमको दोस्रो मिनेटमा सुलभले हानेको कडा प्रहारलाई सहाराका गोलकिपरले मुस्किलले नियन्त्रणमा लिएका थिए ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरेको सहारा दोस्रो हाफमा स्टामिना गुमाएपछि मनाङ हावी भएको थियो । क्याराभान गोल्डकप, आहा गोल्डकप र बूढासुब्बा गोल्डकपसहित पाँच पटकसम्म आमनेसामने बन्दै आएको मनाङ यसपटक पनि तागारो बन्दा इतिहास रच्ने दाउमा रहेको सहारा उपविजेतामा सीमित बन्न पुग्यो ।

खेल सुरु भएको २५ मिनेटमा विष्णु केसीले वान भर्सेस वान बलमा गोल गर्न नसक्दा सहारा विजेता हुनबाट विमुख बनेको हो । भीसान गौचनले करिब मैदानको झण्डै मध्यभागबाट निकालिदिएको पासलाई विष्णुले एकल प्रयासमा अगाडि बढाए पनि पेनाल्टी लाइनजिकैबाट खालीपोस्टमा हानेको उनको प्रहारले सेकेण्डबार लिएको थियो । यसअघि १८ मिनेटमा इदि्रसको लामो थ्रो बलमा माइकल एडेमोको फिलिक हेड क्रसबारमाथिबाट आकाशियो ।

विजेता मनाङले उपाधिसहित नगद ३ लाख ३ रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेतामा सीमित सहाराले नगद १ लाख ५० हजार तीन रुपैयाँ मा चित्त बुझायो । प्रतियोगितामा सहाराका भीसान गौचन बेस्ट प्लयेर घोषित हुँदै नगद २५ हजार हात पारे भने चार गोल गरेका आरसिटीका अमर डंगोल हाइस्कोरर घोषित हुँदै नगद १५ हजार हात पारे ।

खेलपछि विजेता टिम मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले हार्ड मैदान र बल तथा अनियन्त्रित हावाका कारण गोल गर्न गाह्रो भएको प्रतिक्रिया दिए । उनले विपक्षी टिमले डिफेन्सिभ गेम खेलेका कारण आफूहरूले त्यसको फाइदा उठाउन सफल भएको बताए । पराजित टिम सहाराका प्रशिक्षक किरण श्रेष्ठले पहिलो हाफमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्नु र दोस्रो हाफमा स्टामिना गुमाउनु नै हारको कारण भएको बताए ।

विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि मुख्य प्रायोजक रोलिङ रिभर डिस्टि्रलरीका कार्यकारी निर्देशक श्रीहरशमरशेर जबरा, सभासद् शोभाकर पराजुली, क्लबका अध्यक्ष राजकुमार भट्टराईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

सहाराले डिफेण्डिङ च्याम्पियन हिमालयन शेर्पा क्लबलाई तथा मनाङले आरसिटीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । फागुन ३ देखि सञ्चालित सो प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।



प्रकाशित मिति: २०६८ फाल्गुन १३ ०६:४४
Share this article :